काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध कुनै पनि प्रकारको सैन्य आक्रमण भए त्यसको कठोर प्रतिकार गरिने स्पष्ट चेतावनी दिएका छन्। भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अरागची भारत–इरान मैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजित द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा सहभागी हुन भारत आएका हुन्। सो अवसरमा भएको भेटमा दुई देशबीचको समसामयिक सम्बन्ध, क्षेत्रीय सुरक्षा र सहकार्यका विविध पक्षमा छलफल भएको थियो।

advertisement

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक पोस्ट गर्दै २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाबारे जानकारी गराएका छन्। उनले लेखेका छन्, “उक्त आक्रमणले हामीलाई सीमा पार प्रतिकारात्मक कारबाही गर्न बाध्य बनायो।”

उनका अनुसार, भारतले ७ मेमा ‘आतङ्कवादी संरचनाहरू’लाई लक्ष्य बनाउँदै सीमापार कारबाही गरेको थियो। उनले बलियो स्वरमा भने, “हामी तनाव बढाउन चाहँदैनौं, तर यदि भारतमाथि कुनै सैन्य आक्रमण भयो भने त्यसको कठोर र निर्णायक जवाफ दिनेछौं भन्नेमा कुनै शंका हुनु हुँदैन।”

अरागचीसँगको भेटमा जयशंकरले थपे, “छिमेकी तथा रणनीतिक साझेदारको हैसियतले पछिल्लो घटनाक्रमबारे तपाईं पूर्ण जानकारीमा हुनु अत्यन्त आवश्यक छ।”

यो भेटघाटले भारत र इरानबीचको आपसी विश्वास र समन्वयलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com