काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनपछि प्राप्त अधिकारको संरक्षण गर्न सबैलाई संवेदनशील र सचेत बन्न आग्रह गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले बिहीबार पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री सिंहले प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा नै डंगोलप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्।
“०१७ सालमा गुमाइएको अधिकार सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा ०४६ सालमा पुनःस्थापित भयो,” सिंहले भने, “अब ती अधिकार सुरक्षित राख्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ। त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्ने बेला हो।”
पूर्वमहामन्त्रीसमेत रहेका सिंहले ०४२ सालको सत्याग्रहका क्रममा आफू डंगोलसँगै जेलमा बसेको स्मरण गर्दै काठमाडौँमा जनमत निर्माण र संगठन विस्तारमा डंगोलको भूमिकालाई प्रशंसा गरे।
“पञ्चायती शासनकालमा उपप्रमुखको जिम्मेवारी सम्हाल्दा समेत पार्टीको निर्देशनअनुसार काम गरेर तत्कालीन व्यवस्थाको गलत निर्देशन नमान्ने डंगोलको अडानबाट उनको प्रजातन्त्रप्रतिको प्रतिवद्धता प्रष्ट देखिन्थ्यो,” सिंहले उल्लेख गरे।
उनले डंगोलले गरेका योगदानहरू तत्काल मूल्याङ्कन नहुन सक्छन्, तर भविष्यले अवश्य मूल्याङ्कन गर्ने बताए। “राजनीति चमकधमकले मात्र चल्दैन,” सिंहले भने, “जमिनमा रहेर काम गर्नुपर्छ।”
शक्ति प्राप्तिपछि त्यसको सही सदुपयोग गरेर जनताको पक्षमा प्रयोग गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरे।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया