काठमाडौं । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका थप ३६ जना व्यक्ति रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न मुद्दामा अनुसन्धानका लागि थुनामा रहेका उनीहरुलाई हाजिरी जमानीमा रिहा गरेको हो।

प्रहरीका अनुसार रिहा गरिएका ३४ जना आपराधिक उपद्रवसम्बन्धी मुद्दामा र दुई जना राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका थिए। हाल यी दुई कसुरमा गरी ५२ जना अझै प्रहरी हिरासतमा छन्।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, हाल रिहा गरिएकाहरूलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाइनेछ। आवश्यक परेमा प्रहरी बोलाउँदा उनीहरू उपस्थित हुनुपर्नेछ।

राज्यविरुद्धको कसुरमा अनुसन्धानमा रहेका व्यक्तिहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रदर्शनको नेतृत्वकर्ता दुर्गा प्रसाईँ पनि छन्। उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले बिहीबार अनुमति दिएको छ।

त्यस्तै, आपराधिक उपद्रवसम्बन्धी मुद्दामा रहेका अन्य व्यक्तिहरुलाई सात दिनका लागि हिरासत म्याद थप गरिएको छ। यसअघि सोही मुद्दामा पक्राउ परेका २१ जना व्यक्ति पहिल्यै रिहा भइसकेका छन्।

राज्यविरुद्धको कसुरमा अनुसन्धानमा परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने स्वास्थ्यको कारण देखाएर पहिल्यै रिहा भएका थिए। रिहापछि उनी उपचारका लागि भारत गएका थिए र हाल नेपाल फर्किएका छन्।

चैत १५ गतेको तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो भने करोडौँको सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको थियो।

 

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com