काठमाडौं । पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको खबर सार्वजनिक भइरहँदा, हिमाञ्चल प्रदेशको धर्मशालामा जारी आईपीएल खेल सुरक्षा कारण देखाउँदै आकस्मिक रूपमा रोकिएको छ।
पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेलमा पञ्जाबले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाइसकेको अवस्थामा खेल रोकिएको हो। सुरुमा फ्लडलाइट बन्द भएको कारण प्राविधिक समस्या देखाइएको थियो, तर त्यसैबेला पाकिस्तानबाट भारतमाथि भएको आक्रमणको खबर फैलिँदा मैदानमा त्रासको वातावरण सिर्जना भएको थियो।
तीनवटा फ्लडलाइट अचानक बन्द भएपछि स्टेडियम अन्धकारमा डुबेको थियो। पावर आउटेजको कारण देखाइएको भए पनि यो पाकिस्तानी आक्रमणसँग सम्बन्धित ‘ब्ल्याकआउट’ भएको आशंका गरिएको छ।
सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरूलाई मैदान खाली गर्न आग्रह गरिएको छ। हालसम्म घटनाबारे आधिकारिक जानकारी भने पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यो असहज परिस्थितिका लागि क्षमायाचना प्रकट गरेको छ।
बीसीसीआईका अनुसार प्राविधिक कारणले पावर आपूर्ति अवरुद्ध हुँदा फ्लडलाइट सञ्चालनमा समस्या आएको हो। तर घटनाक्रम र समयको संयोगले यसमा सुरक्षासम्बन्धी चिन्ता थपिएको छ।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया