काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै भने, “देशलाई दशकौंसम्म गरिबीमा राख्नेहरूले अहिले फेरि हामी आउँछौं, साथ देउ भन्ने कुरा गर्दैछन्, जुन निकै अचम्मको कुरा हो।”
उनले भने, “अचम्म त के छ भने, जसले देशलाई कंगाल बनाएका थिए, आज उनीहरू नै फेरि सत्तामा फर्किन खोजिरहेका छन्। लाज नमानिकन हामी आउँछौं भन्छन्। तर आजको यथार्थ के हो भने, पछिल्ला ३० वर्षमा देशले उल्लेख्य विकास गरेको छ। तथ्यांक र आँकडाहरूले यो प्रस्ट देखाउँछ।”
प्रधानमन्त्री ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन सबै मिलेर लाग्नुपर्ने आवश्यकता औंल्याए।
“हामीले देश बनाउने हो, विकसित बनाउने हो। देशलाई बस्न योग्य बनाउनैपर्छ,” उनले भने।
उनका अनुसार, “हाम्रो देशको वातावरणीय विशेषता अनमोल छ। हिमाल, पहाड, स्वच्छ हावा र प्राकृतिक सम्पदाले भरिपूर्ण यो भूमि वास्तवमै देवभूमि हो।”
प्रधानमन्त्री ओलीले देशमा बढ्दो अराजक गतिविधिप्रति पनि आक्रोश व्यक्त गरे। “यस्तो पवित्र भूमिमा ‘फोक्सोको व्यापारी’ कहाँबाट आयो? यस्तो कुराले सोच्न बाध्य बनाउँछ,” उनले प्रश्न गरे।
उनको भनाइमा, देशलाई समृद्ध र सुरक्षित बनाउने जिम्मेवारी सबै नेपालीले लिनुपर्ने समय आएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार












प्रतिक्रिया