काठमाडौं । शनिबार साँझ भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौता लागू भएको केही घण्टामै पाकिस्तानले सम्झौना तोडेको भारतले आरोप लगाएको छ।
शनिबार राति करिब ११ बजे भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गरी पाकिस्तानले पुनः सैन्य आक्रमण सुरु गरेको दाबी गरेका हुन्।
पत्रकार सम्मेलनमा मिश्रीले भने, “पछिल्ला केही दिनदेखि जारी सैन्य तनावलाई रोक्न आज साँझ दुबै देशबीच युद्धविरामको सहमति भएको थियो। तर, सम्झौता भएको केही समय नबित्दै पाकिस्तानले गम्भीर उल्लंघन गरेको छ।”
उनका अनुसार, पाकिस्तानले सीमा क्षेत्रमा फेरि गोलीबारी थालेको छ र भारतीय सुरक्षाफौजले त्यसको जवाफ दिइरहेको छ। “पाकिस्तानी पक्षबाट भइरहेको यो सीमा अतिक्रमण अत्यन्तै निन्दनीय छ र यसको सम्पूर्ण जिम्मेवारी पाकिस्तानले लिनुपर्छ,” मिश्रीले भने।
करीब दुई मिनेट ३० सेकेन्डको आफ्नो वक्तव्यमा उनले पाकिस्तानलाई यस अवस्थाको गम्भीरता बुझ्न आग्रह गरे र युद्धविरामको पालना गराउन तुरुन्त कदम चाल्न आह्वान गरे।
मिश्रीले थपे, “भारतीय सेना परिस्थितिमाथि सतर्क निगरानी गरिरहेको छ र कुनै पनि प्रकारको अतिक्रमणविरुद्ध कडा जवाफ दिन आदेश दिइसकिएको छ।”
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार













प्रतिक्रिया