काठमाडौं ।  हालै सम्पन्न शिक्षक आन्दोलनका कारण अवरुद्ध भएको विद्यालय पठनपाठन हिउँदे वा वर्षे बिदाको समयमा सञ्चालन गरी परिपूर्ति गरिने भएको छ। नेपाल शिक्षक महासंघले सम्बन्धित क्षेत्रको मौसम र अनुकूलतालाई ध्यानमा राख्दै सो निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनका क्रममा आयोजना गरिएको आम शैक्षिक हड्तालले विद्यालयको भर्ना प्रक्रिया र कक्षा सञ्चालनमा असर परेको छ। “विद्यार्थीको शिक्षण सिकाइमा परेको क्षतिको भरपाई गर्नका लागि विद्यालयहरूले आफ्नै अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको समयमा कक्षा सञ्चालन गर्न भनिएको छ,” अध्यक्ष सुवेदीले जानकारी दिए।

advertisement

उनका अनुसार नेपालका विभिन्न भौगोलिक क्षेत्रअनुसार बिदा फरक–फरक हुने भएकाले स्थानीय परिस्थितिअनुसार विद्यालयले निर्णय लिन सक्नेछन्। “कसैको ठाउँमा हिउँदे बिदा पर्छ, कसैको ठाउँमा वर्षे बिदा, त्यस्तै दशैं–तिहारको बिदा पनि हुन्छ। त्यसैले जहाँ जस्तो अनुकूलता छ, त्यहीअनुसार कक्षा सञ्चालन गर्न भनिएको हो,” उनले स्पष्ट पारे।

नेपाल शिक्षक महासंघले नयाँ विद्यालय शिक्षा ऐनको माग राख्दै चैत २० गतेदेखि २९ दिनसम्म काठमाडौंमा आन्दोलन गरेको थियो। सो क्रममा भएको शैक्षिक हड्तालका कारण देशभरका विद्यालयमा पठनपाठन ठप्प भएको थियो। अन्ततः १७ वैशाखमा सरकारसँग ९ बुँदे सहमति भएपछि आन्दोलन स्थगन गरिएको हो।

हड्तालका कारण १ वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रको भर्ना अभियानसमेत प्रभावित भएको थियो। तर अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार भर्ना अभियान पुनः सञ्चालनमा छ।

यसैबीच, विद्यार्थीलाई पाठ्यपुस्तक वितरणसमेत तीव्र गतिमा भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार अहिले देशभर आवश्यकताअनुसार पुस्तक पुर्‍याउने काम भइरहेको छ। “अब पुस्तकको कुनै अभाव छैन, विद्यार्थीको हातहातमा किताब पुर्‍याइएको छ,” पौडेलले बताए।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com