काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताका लागि आफू तयार रहेको बताएका छन्। उनले आउँदो बिहीबार टर्कीको इस्तानबुलमा पुटिनलाई प्रतिक्षा गर्ने घोषणा गरेका छन्।

जेलेन्स्कीको यो अभिव्यक्ति अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावपछि आएको हो। ट्रम्पले युक्रेनलाई तुरुन्तै रूससँग वार्ताका लागि टर्की पठाउन आग्रह गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै शान्ति सम्झौता सम्भव छ कि छैन भन्ने थाहा पाउन वार्ताको आवश्यकता रहेको बताएका थिए। उनले लेखेका थिए, “यदि सम्झौता सम्भव छैन भने, त्यसपछि अमेरिका र युरोपेली मुलुकहरूले अब के गर्ने भन्ने निर्णय गर्न सक्छन्। अहिल्यै वार्ता गर।”

जेलेन्स्कीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, “अब थप ज्यान गुमाउनुको कुनै अर्थ छैन। म बिहीबार पुटिनलाई इस्तानबुलमा व्यक्तिगत रूपमा भेट्न तयार छु।”

यद्यपि जेलेन्स्कीले यसअघि नै वार्ताका लागि युक्रेन तयार रहेको जनाइसकेका थिए। तर, उनले युद्धविरामलाई वार्ताको पूर्वशर्तका रूपमा प्रस्तुत गर्दै आएका छन्।

शनिबार राति रूसी राष्ट्रपति पुटिनले पनि युक्रेनलाई ‘गम्भीर वार्ता’ का लागि आह्वान गरेका थिए।
रूस–युक्रेन युद्ध सन् २०२२ देखि जारी छ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com