काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिका निर्णायक भूमिकामा रहेको दाबी गरेका छन्।
साउदी अरेबियाको भ्रमणका क्रममा राजधानी रियादमा आयोजना गरिएको साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तानबीचको तनावबारे उल्लेख गरे। उनले भने, “यदि युद्धविराम भएको नहुँदो हो त लाखौं मानिसको ज्यान जान सक्थ्यो।”
“म शान्तिको पक्षमा छु र मानिसहरूलाई एकजुट बनाउने चाहना राख्छु। मलाई युद्ध मन पर्दैन,” उनले स्पष्ट पारे।
ट्रम्पका अनुसार केही दिनअघि भारत र पाकिस्तानबीचको बढ्दो द्वन्द्व रोक्न अमेरिकी प्रशासनले ऐतिहासिक युद्धविराममा मध्यस्थता गर्न सफल भएको थियो। उनले दुबै मुलुकका नेताहरूलाई “शक्तिशाली र प्रभावशाली” व्यक्तित्वका रूपमा चित्रण गर्दै प्रशंसा पनि गरे।
यस सफल पहलमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको विशेष योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उनीहरूको प्रशंसा समेत गरेका छन्।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार













प्रतिक्रिया