काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारतीय विदेशमन्त्री एस. जयशंकरको सुरक्षा सतर्कता उच्च बनाइएको छ। सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले दिएको जानकारीअनुसार, अबदेखि जयशंकरले बुलेटप्रुफ गाडी प्रयोग गर्नेछन्।

केन्द्रीय गृह मन्त्रालयले उनको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिँदै दिल्लीस्थित आवास वरिपरि सुरक्षा घेरा कडा बनाएको छ। जयशंकर पहिले नै ‘जेड’ श्रेणीको सुरक्षा पाउँदै आएका थिए, जुन केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कमाण्डोहरूले उपलब्ध गराउँदै आएका छन्। उनलाई सुरक्षा दिन ३३ जना सशस्त्र कमाण्डोहरू २४ घण्टा खटिन्छन्।

advertisement

गत वर्ष अक्टोबरमा उनको सुरक्षा स्तर ‘वाई’ बाट बढाएर ‘जेड’ बनाइएको थियो। त्यसयता सीआरपीएफले दिल्ली प्रहरीले प्रदान गर्दै आएको सुरक्षा जिम्मा लिएर पूर्ण रुपमा आफूले सञ्चालन गरिरहेको छ। हाल ६९ वर्षीय जयशंकरलाई देशका जुनसुकै स्थानमा जाँदा पनि दर्जनभन्दा बढी सशस्त्र कमाण्डोहरूले सुरक्षा दिइरहेका छन्।

भारतमा केन्द्रीय सुरक्षा सूची अनुसार उच्चस्तरीय सुरक्षा ‘जेड प्लस’ बाट सुरु भई ‘जेड’, ‘वाई प्लस’, ‘वाई’ र ‘एक्स’ श्रेणीसम्म हुन्छ। सीआरपीएफले हाल गृह मन्त्री अमित शाह, मन्त्री नितिन गडकरी, दलाई लामा, र कांग्रेस नेताहरू सोनिया गान्धी, राहुल गान्धी तथा प्रियंका गान्धी वाड्रालगायत २१० भन्दा बढी विशिष्ट व्यक्तित्वहरूलाई सुरक्षा दिइरहेको छ।

अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले कडा सैन्य प्रतिक्रिया दिएको थियो। सो घटनापछि भारत–पाकिस्तान सम्बन्ध थप तनावपूर्ण बनेको छ। यिनै परिस्थितिलाई ध्यानमा राख्दै सरकारले विदेशमन्त्री जयशंकरको सुरक्षा थप मजबुत बनाउने निर्णय लिएको हो।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com