एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतसँग शान्ति वार्ता गर्न तयार रहेको बताएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उनले भने, ‘हामी शान्तिका लागि वार्ता गर्न चाहन्छौँ, तर कश्मीर मुद्दा समावेश हुनुपर्छ।’

पञ्जाबको कामरा एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। उपप्रधानमन्त्री इशाक डार, रक्षामन्त्री ख्वाजा आसिफ, सेना प्रमुख असीम मुनीर र वायुसेना प्रमुख जहीर अहमद बाबर सिद्धु पनि उपस्थित थिए।

advertisement

सो अवसरमा उपप्रधान तथा विदेशमन्त्री इशाक डारले पाकिस्तानले युद्धविराम माग नगरेको दाबी गरे। उनले भारतले पहिले आक्रमण रोकेको बताए। द डनका अनुसार भारत र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकहरू (डीजीएमओ) बिच युद्धविरामबारे मे १८ मा हटलाइन वार्ता हुनेछ।

डारले भने, ‘हामी हरेक विषयमा खुला छलफल गर्न तयार छौँ।’ उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतले आक्रमण रोक्ने जानकारी दिएपछि युद्धविराम सुरु भएको दाबी गरे। पाकिस्तानले संयमता अपनाएको र मित्र राष्ट्रहरूलाई जानकारी गराएको उनको भनाइ थियो। ‘हामी पहिले आक्रमण गर्दैनौँ, तर भारतले उक्साए जवाफ दिन्छौँ,’ उनले भने।

प्रधानमन्त्री शरीफले सियालकोटमा सैनिकहरूलाई सम्बोधन गर्दै भारतको ‘अहंकार धूलोमा मिलाएको’ भनेका थिए। भारतले सिन्धु जल सन्धि निलम्बन गरेको उल्लेख गर्दै पानीको अधिकारका लागि अन्तिमसम्म लड्ने चेतावनी दिए। कश्मीर मुद्दा संयुक्त राष्ट्रसङ्घको प्रस्तावअनुसार समाधान हुनुपर्ने उनको अडान छ।

राष्ट्रपति आसिफ अली जरडारीले रावलपिण्डीको सैन्य अस्पतालमा घाइते सैनिकहरूलाई भेटेका थिए। डन न्यूजका अनुसार उनले सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै मोदी सरकारले राजनीतिक उद्देश्यले आक्रामकता देखाएको आरोप लगाए।

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com