काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन (ईयू) को प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ।
भेटका क्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा काठमाडौंस्थित अन्य ईयू सदस्य राष्ट्रका राजदूतहरू तथा भारतको नयाँ दिल्लीमा कार्यरत गैह्रआवासीय राजदूतहरूको सहभागिता रहेको थियो। काठमाडौंमा जेठ २ देखि ४ गतेसम्म सम्पन्न सगरमाथा संवादका अवसरमा युरोपियन युनियनका यति धेरै प्रतिनिधिहरू पहिलोपटक संयुक्त रूपमा नेपाल आएका हुन्।
भेटमा नेपाल–युरोपियन युनियनबीच ५१ वर्षदेखि कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धको चर्चा गर्दै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनका लागि आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, जनआन्दोलन र शान्ति प्रक्रियाबाट पार पाउँदै संविधान सभामार्फत नयाँ संविधान निर्माण गरेको उल्लेख गर्दै अबको मार्ग आर्थिक विकास र सुशासनतर्फ निर्देशित रहेको बताए।
उनले प्रमुख दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा बनेको सरकार आर्थिक रूपान्तरण र रोजगारी सृजनामा प्रतिबद्ध रहेको भन्दै युरोपियन युनियनसहित अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरे। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको संघर्षबाट प्राप्त भएकाले अब त्यसबाट पछाडि फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले “सबैसँग मित्रता, कसैसँग शत्रुता होइन” भन्ने परराष्ट्र नीतिलाई आत्मसात् गर्दै नेपालले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने र अन्य मुलुकहरूसँग मित्रवत सम्बन्ध विस्तार गर्ने बताएका थिए। उनले सगरमाथा संवादको पहिलो श्रृङ्खलामा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै “हिमालदेखि समुद्रसम्म” को अवधारणालाई सुदृढ गर्दै आगामी दिनमा पनि संवादको निरन्तरता रहने जानकारी गराए।
साथै, प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भइसकेको र सरोकारवालासँगको परामर्शमा आधारित दुई आयोग गठन भएकाले अब कार्यान्वयनमा ढिलाइ नहुने विश्वास व्यक्त गरे।
युरोपियन युनियनका प्रतिनिधिहरूले नेपाललाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनजस्ता क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपालको सामाजिक–आर्थिक विकासमा साथ दिने बताएका थिए। साथै, संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षतर्फ अघि बढेकोमा सन्तोष व्यक्त गर्दै पीडितलाई केन्द्रमा राखेर न्याय सुनिश्चित गर्न आग्रह गरे।
भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागी थिए।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया