काठमाडौं । सरकारले यस वर्षको गणतन्त्र दिवसलाई तीन दिनसम्म विविध कार्यक्रमसहित भव्यरूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसको अवसरमा केन्द्र, प्रदेश र स्थानीय तहमा त्रिदिवसीय कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार, यस वर्षको गणतन्त्र दिवस २०८२ लाई भव्य र ऐतिहासिक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। उक्त समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका अन्य नगरपालिका प्रमुखहरू तथा गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन्।
बैठकले जेठ १५ गतेको मुख्य दिवसलाई केन्द्रमा राखी जेठ १४, १५ र १६ गते प्रत्येक साँझ सार्वजनिक कार्यालयहरूमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ। यसका लागि तीनै तहका सरकार तथा निजी क्षेत्र, संघसंस्था र नागरिक समाजलाई समेट्दै तहगत समिति तथा उपसमितिहरू गठन गरिनेछ।
विदेशमा रहेका नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा समेत गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछ। जेठ १५ गतेको मुख्य समारोह सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको संयोजनमा हुनेछ, जहाँ नेपाली सेनाले बिगुल, रिभ्याली, तोप र बन्दुकको बढाईं प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
जेठ १४ गते संघीय सरकार तथा प्रदेश र स्थानीय तहमा गणतन्त्र दिवसकेन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै छापा तथा सञ्चार माध्यमहरूलाई विशेषाङ्क र स्मारिका प्रकाशन गर्ने, गणतन्त्रको मूल्य, महत्व र बहुआयामिक पक्षलाई उजागर गर्ने लेख र रचनाहरूको संग्रह प्रकाशन गर्न प्रेरित गरिनेछ।
दरबार स्क्वायर, मण्डला लगायतका ऐतिहासिक स्थानहरूमा दीप प्रज्वलन गरिनेछ भने जेठ १६ गते सरकारी कार्यालयका छाना र बरण्डामा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजावट गर्ने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ।
यसरी, गणतन्त्र दिवस २०८२ लाई समर्पित तीन दिनका गतिविधिहरूले गणतन्त्रप्रतिको सम्मान, गौरव र जनसहभागिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया