काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण आजको प्रतिनिधिसभा बैठकमा निर्धारित ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रम स्थगित गरिएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिँदै, आजको कार्यक्रममा उहाँको सहभागिता सम्भव नभएको बताए।
सोमबार काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू अस्वस्थ रहेको उल्लेख गर्दै आफ्नो मन्तव्य छोट्याएका थिए। उनी रुघाखोकीले पीडित रहेको जनाइएको छ।
“प्रधानमन्त्रीज्यू हिजोदेखि नै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँको सहभागिता हुने सम्भावना छैन,” प्रमुख सचेतक बर्तौलाले रातोपाटीसँग भने।
प्रतिनिधिसभाको आजको बैठकमा संसद् नियमावली, २०७९ अन्तर्गतको परिच्छेद–९ बमोजिम सांसदहरूले प्रधानमन्त्रीसमक्ष राखेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको थियो। प्रधानमन्त्रीको अस्वस्थताका कारण उक्त कार्यसूची यथावत् सञ्चालन हुन नसकेको हो।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया