काठमाडौं । गृहमन्त्री रमेश लेखकले सूचनाको हकलाई नागरिकको अधिकार भने पनि प्रत्येक सूचना उपलब्ध गराउनुपर्ने बाध्यता नभएको स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सूचनाको हक पारदर्शिता र सुशासनका लागि अत्यावश्यक भए पनि गोपनीयता, शान्ति सुरक्षा तथा राष्ट्रिय हितसँग सम्बन्धित सूचनाहरू भने सार्वजनिक गर्न नहुने बताए।
उनका अनुसार, “सूचना दिनु राज्यको कर्तव्य हो, र प्राप्त गर्नु नागरिकको अधिकार हो। तर, सूचनाको हक भन्नाले जे–जति माग्यो, सबै दिनैपर्छ भन्ने होइन। कतिपय सूचना गोपनीयतासँग गाँसिएका हुन्छन्, ती दिन जरुरी हुँदैन।”
गृहमन्त्री लेखकले विदेश नीति, कूटनीतिक सम्बन्ध, राष्ट्रिय सुरक्षा र शान्तिसँग सम्बन्धित संवेदनशील सूचनाहरू सार्वजनिक गर्दा मुलुकको सुरक्षामा आँच आउन सक्ने भन्दै सचेत रहन आग्रह गरे। “पारदर्शिता र सुशासनका नाममा सबै कुरा खुला गरियो भने देश सन्तुलनमा रहन सक्दैन,” उनले चेतावनी दिए।
उनले अझै जोड दिँदै भने, “सूचना यथासम्भव लुकाउनु हुँदैन। तर, यदि कुनै सूचना गोपनीयताको कारणले दिन मिल्दैन भने, त्यसबारे स्पष्ट कारणसहित जानकारी गराउनु जरुरी छ।”
मन्त्री लेखकले संविधानको भावना र प्रावधानहरूलाई सन्तुलित, विस्तारित र समग्र रूपमा बुझ्नुपर्ने आवश्यकता पनि औंल्याए।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया