काठमाडौं । पछिल्लो पटक हुम्लामा आएको वर्षा र बाढीको जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नै चार दिन ढिलो पायो, जुन विषयले फेरि पनि विपद् व्यवस्थापनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्राधिकरणका निर्देशक डा. दिनेश भट्ट स्वयं हुम्लाको बाढीबारे अनविज्ञ रहेकाले जिम्मेवार संयन्त्रको तयारी, सूचना प्रणाली तथा कार्यसम्पादन क्षमताप्रति चासो बढेको छ। हुम्लाका स्थानीय बासिन्दा आपत्कालीन सहयोगको पर्खाइमा हुँदा, प्राधिकरणका केही उच्चपदस्थ अधिकारीहरू राजधानीमा आयोजना भएको पाँचतारे होटलको कार्यक्रममा व्यस्त रहेको देखिन्छ ।

advertisement

स्थानीय स्रोतका अनुसार, बाढीले घर, कृषि र यातायातमा गम्भीर क्षति पुर्‍याएको छ। राहत तथा उद्धारमा ढिलाइ हुनु दु:खद मात्र होइन, उत्तरदायित्वबाट विमुखता पनि हो भन्ने स्थानीयको गुनासो छ।

विपद् व्यवस्थापन गर्न गठित निकायले नै समयमा सूचना नपाउनु र आवश्यक संयोजन गर्न नसक्नु यस क्षेत्रको गम्भीर कमजोरी हो भन्ने विज्ञहरू बताउँछन्।

अब प्रश्न उठेको छ — विपद् व्यवस्थापनका लागि जिम्मेवार निकायको प्राथमिकता के हो? गरिब, दुर्गम क्षेत्रमा संकट परेका जनताको पीडा, कि राजधानीका सुविधाजनक गोष्ठीहरू?

“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण” को उद्देश्य जोखिमयुक्त क्षेत्रको पहिचान गरी, विपद् पूर्वतयारी, राहत सामग्रीको भण्डारण, व्यवस्थापन र वितरण प्रणाली सुदृढ गर्दै जनधनको क्षति न्यूनीकरण गर्नु हो।

विपदले देशलाई पटक-पटक ढकढकाई रहेको छ। यसले भौतिक क्षति मात्र नभएर, जनमानसको मानसिक अवस्थामा हुने प्रभाव, बालबालिकाको पोषणमा हुने समस्या, उनीहरुको शिक्षा र स्वास्थ्यमा पार्ने दीर्घकालीन असर पनि उत्तिकै छ ।

यस्तो संवेदनशील अवस्थामा प्रभावित समुदायका लागि सबैभन्दा ठूलो अपेक्षा विपद प्राधिकरणमै रहन्छ। तर, एक स्वायत्त संस्थाले अपेक्षित कार्यदक्षता देखाउन सकेको देखिंदैन।

 

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com