काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सभापतिको पद सत्तारुढ दलकै सांसदले सम्हालेको विषयलाई लिएर तीव्र विवाद भएको छ।

बुधबार बसेको समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेको थियो। सो उपसमिति राजेन्द्र लिङदेनको संयोजकत्वमा गठन गरिएको हो। छलफलका क्रममा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले समितिको सभापति सत्तारुढ दल एमालेकै सांसद हुनु उचित नभएको भन्दै प्रश्न उठाए।

advertisement

सांसद मोदीले प्रधानमन्त्री स्वयं एमालेबाट निर्वाचित भएको अवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलमा हुनु संसदीय परम्पराको दृष्टिकोणले उपयुक्त हुने तर्क गरे। तर, उनको भनाइप्रति एमालेका सांसदहरूले कडा आपत्ति जनाउँदै प्रतिवाद गरेपछि बैठकमा वाक्युद्ध चर्किएको हो ।

समितिमा प्रतिवेदनमाथि छलफल हुनुको सट्टा सभापतिको नेतृत्वबारे उठेको विवादले बैठक तनाबपूर्ण बनेको थियो।

सांसद मोदीले भने, ‘म आरोप त लगाउन चाहान्न्, नेकपा (एमाले)का साथीहरुलाई आरोप लगाउनु पनि छैन मलाई । किनभने तपाइहरुको पार्टीको प्रधानमन्त्री पनि हुनुहुन्छ । सार्वजनिक लेखा समितिको सभापति तपाईंको पार्टीकै हुनुहुन्छ । अनि फरक मत पनि तपाईंहरु नै राख्नुहुन्छ वा पुरक प्रस्ताव पनि तपाईंहरु नै राख्नुहुन्छ ।’

माओवादी सांसद मोदीले यति मात्रै के भनेका थिए, एमालेका सांसदले मोदी बोलिरहेकै बेला बोल्न थालिहाले । । मोदीले आफ्नो पालोमा आफूलाई बोल्न दिन आग्रह गरे । उनले भने, ‘सत्तापक्षको तपाईंहरु नै हुनुहन्छ । सभापति पनि तपाईंकै छन् ।’

मोदी बोलिरहेकै बेला एमालेका सांसद गोकुल बास्कोटा, योगेश भट्टराई लगायतले बोल्न थाले । मोदीले ठुलो स्वरमा जोड दिँदै भने, ‘एमालेको प्रधानमन्त्री हुनुहुन्न र ? सत्तापक्षको सभापति हुनुहुन्न र ? त्यहि त कुरा गर्दैछु ।’ सत्तापक्षका प्रधानमन्त्री हुदाँ पनि सभापति पनि सत्तापक्षकै हुनुहन्छ । हामीले भन्यौ, यो समितिको सभापति प्रतिपक्ष हुनुपर्छ ।’

सांसदका विचमा चर्काचर्की हुन थालेपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठकलाई सहजीकरण गर्दै भने सांसदलाई बोलेको विषयमा व्याख्या नगर्न आग्रह गरे ।
त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि बोल्न थाले ।

एमालेका सांसद बास्कोटा र स्वतन्त्र सांसद सिंह झोक्किँदै बाझाबाझ गर्न थाले । त्यसपछि एमाले सांसद भट्टराईले पनि को हो तपाईं डेक्टेट गर्ने भन्दै सिंहलाई प्रश्न गरे । त्यसपछि माओवादी सांसद लेखनाथ दाहाल पनि बोल्न थाले ।

सभापति पोखरेलले सहजीकरण गर्दै दलका प्रतिनिधिका रुपमा नभई समितिको सदस्यको रुपमा भूमिका निर्वाह गर्न आग्रह गरे ।त्यसपछि माओवादी सांसद मोदीले समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिुन पर्दैन त भन्दै प्रश्न गरे । त्यसपछि सभापति पोखरेले अमन मोदीको पालो भएकाले बोल्न आग्रह गरे ।

सांसद मोदीले अमन मोदी नभएर अमनलाल मोदी भन्न आग्रह गरेपछि सभापति पोखरेलले पूर्वमन्त्री आदरणीय अमनलाल मोदी भन्दै बोल्न आग्रह गरे । मोदीले पूर्वमन्त्री भनिरहन जरुरी नरहेको बताए ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com