काठमाडौं । भारत र पाकिस्तानबीचको सम्बन्धमा पुनः तनाव बढ्ने संकेत देखिएको छ। पछिल्ला घटनाक्रम अनुसार दुवै मुलुकले एक–अर्काका कूटनीतिक कर्मचारीलाई देशनिकाला गरेका छन्।
भारतले बुधबार नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासका एक कर्मचारीलाई अवाञ्छित घोषणा गर्दै देश छाड्न आदेश दिएको थियो। सोही जवाफमा पाकिस्तानले बिहीबार इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कूटनीतिक कर्मचारीलाई २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको हो।
पाकिस्तानी विदेश मन्त्रालयले भारतीय उच्चायोगका कार्यवाहक प्रमुखलाई बोलाई सो निर्णयको जानकारी गराएको समाचार संस्था न्युजएक्स डटकमले जनाएको छ।
भारतले आफ्ना कर्मचारीमाथि जासुसीको आरोप लगाउँदै उनीहरूलाई निष्कासित गरेको बताइएको छ। भारतले मे २१ तारिखमा पनि पाकिस्तानी दूतावासका अर्को अधिकारीलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गर्दै देश छाड्न आदेश दिएको थियो।
भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतमा कार्यरत पाकिस्तानी कूटनीतिज्ञहरूले आफ्नो दर्जा र विशेषाधिकारको दुरुपयोग नगरून् भन्ने स्पष्ट सन्देश दिएको छ।
यो पछिल्लो घटनाक्रमले दुई आणविक शक्तिसम्पन्न छिमेकी देशबीचको सम्बन्धमा झनै चिसोपन ल्याएको छ। कूटनीतिक मामिलामा यस्तो प्रकारको कदमले पारस्परिक विश्वासमा गहिरो असर पार्न सक्छ भन्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया