काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी का अध्यक्ष डा. तानाका अकिहिकोबीच टोकियोस्थित जाइकाको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श हुनुका साथै आपसी हितका विविध पक्षहरूबारे समेत छलफल गरिएको मन्त्री राणाको सचिवालयले जनाएको छ।
मन्त्री डा. राणाले विगत लामो समयदेखि जापान सरकारले जाइकामार्फत नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरिन्।
उनले विशेषगरी आर्थिक विकास र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनको सामना, सुशासन प्रवर्द्धन तथा लोकतन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा जाइकाको सहयोगले उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरिन्।
भेटका क्रममा मन्त्री राणाले नागढुङ्गा सुरुङमार्ग निर्माण, सिन्धुली–बर्दिबास सडक पुनर्निर्माण तथा मर्मतजस्ता महत्वपूर्ण परियोजनाहरूमा जाइकाको सहयोगप्रति समेत कृतज्ञता व्यक्त गरिन्।
दुई पक्षबीच भएको छलफलमा नेपाल–जापान सम्बन्ध, जाइकाको हालका र भविष्यका सहयोग परियोजनाहरू, जलवायु परिवर्तनका असर, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा ज्येष्ठ नागरिकको हितसम्बन्धी विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया