काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा भइरहेको मिलेमतो र आर्थिक चलखेलको विषयले गम्भीर मोड लिएको छ। गृह मन्त्रालयका उच्च अधिकारीहरूसमेत यो प्रकरणमा मुछिने सम्भावना बढ्दै गएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तिर्थराज भट्टराईविरुद्ध विस्तृत छानबिन सुरु गरेपछि मन्त्रालयका भित्री चलखेल बाहिर आउन थालेका छन्। भट्टराईले गृहमन्त्री रमेश लेखकको सचिवालयको आडमा अध्यागमनमा भ्रष्टाचारको संरचना सञ्चालन गरेको आरोप लागेको छ। स्रोतका अनुसार उनी नियमित रूपमा सचिवालयमा रकम बुझाउँदै आएका थिए।
गृहमन्त्रीका निजी सचिव बद्री तिवारी र स्वकीय सचिव जनक भट्ट यो सम्पूर्ण “सेटिङ” को मूल योजनाकारका रूपमा अघि आएका छन्। उपसचिव तिवारी गृहमन्त्री लेखकसँग विगतदेखि नै नजिक रहँदै आएका छन्। कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहँदा उनी लेखकको विश्वासपात्र बनेका थिए। अहिले गृह मन्त्रालयको महत्वपूर्ण निर्णयहरूमा समेत उनको भूमिका प्रभावशाली रहेको बताइन्छ।
स्वकीय सचिव जनक भट्ट पनि विवादास्पद छविका कारण चर्चामा छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका उनी प्रहरी सरुवा-बढुवा तथा अध्यागमन विभागका कर्मचारी सरुवासम्बन्धी लेनदेनमा सक्रिय रहेको स्रोतको दाबी छ।
त्यस्तै, विगतमा अध्यागमन विभागमै कार्यरत रहँदा भ्रष्टाचार मुद्दामा मुछिएका विमल पौडेल हाल मन्त्री लेखककै सचिवालयमा कार्यरत छन्। उनीमाथि गत वर्ष प्रहरीको अनुसन्धानपछि मुद्दा चलेको थियो तर पछि सफाइ पाएका थिए। अहिले उनी सचिवालयमा बसेर अध्यागमन विभागका अनियमित कारोबार सम्हाल्ने प्रमुख पात्र बनेको बताइएको छ।
यसैगरी, गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझा अध्यागमनमा हुने मिलेमतोमा संलग्न अर्को नाम हुन्। स्रोतका अनुसार, उनीहरू मिलेर अध्यागमन विभागमार्फत मासिक दुई करोड रुपैयाँसम्मको असुली गर्ने गरेका छन्।
यो सिङ्गो सञ्जाल गृह मन्त्रालयको सचिवालयमै सञ्चालन भइरहेकाले अनुसन्धानको दायरामा मन्त्री लेखककै भूमिकामाथि प्रश्न उठ्न थालेको छ। अख्तियारले यो प्रकरणमा कति गहिरो छानबिन गर्ने हो, त्यसले आगामी दिनमा ठूला राजनीतिक तरंग ल्याउने संकेत देखिएको छ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया