धनुषा । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश अन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र चोरी–तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन दिएका छन्।
नेपाल सरकारको गृह मन्त्रालय र मधेश प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले खुला सिमानाका कारण सुरक्षामा विशेष सतर्कता आवश्यक रहेको उल्लेख गरे।
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायलाई बदलिँदो राष्ट्रिय परिप्रेक्ष्यमा इमान्दार, जिम्मेवार र पेशागत ढंगले काम गर्न आग्रह गरे।
“देशमा लागुऔषधको ओसारपसार, सडक दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता सामाजिक समस्याहरू तीव्र रूपमा बढ्दै छन्,” मन्त्री लेखकले भने, “मधेश प्रदेशका सबै जिल्ला भारतसँग सिमाना जोडिएकाले यस्ता समस्याको रोकथामका लागि अझ बढी सतर्कता र जिम्मेवारी आवश्यक छ।”
गोष्ठीमा उनले राष्ट्रसेवक कर्मचारीलाई पनि कानुनको पालन गर्दै आर्थिक प्रलोभनमा नपरी इमान्दार, निष्पक्ष र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न निर्देशन दिए। उनले छिटो, सरल र पारदर्शी प्रशासनिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया