काठमाडौँ । भिजिट भिसामा अनियमितता र सेटिङको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेलको सरुवा गरिएको छ।
उनीलाई हालै राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (NEOC) मा सरुवा गरिएको हो।
गत बुधबार (जेठ ६ गते) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो। छापाको क्रममा प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो। भिजिट भिसाका नाममा अनैतिक कार्य गरिएको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानमा भट्टराईसँग सम्बन्धित इलेक्ट्रोनिक उपकरणहरू समेत जफत गरी फरेन्सिक परीक्षणका लागि पठाइएको छ।
यसै प्रकरणमा गृहमन्त्रीको सचिवालयमा कार्यरत शाखा अधिकृत पौडेल पनि संलग्न रहेको शंका लागेपछि उनलाई सचिवालयबाट हटाएर NEOC मा सरुवा गरिएको हो।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजालको संयोजनमा पौडेलको सरुवा निर्णय गरिएको हो। यद्यपि, जेठ ४ गतेको मितिमा सरुवा पत्र प्रदान गरिएको भए पनि, अन्तिम निर्णय शुक्रबार छलफलपछि आइतबार मात्र गरिएको निकट स्रोतले जनाएको छ।
पौडेलको नाम यसअघि पनि नक्कली कागजात तयार गरी भिजिट भिसामा विदेश पठाउने गिरोहसँग जोडिएको थियो। नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु आचार्य, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोलसहित पौडेलविरुद्ध मुद्दा दायर भएको थियो। तर, पछि अदालतबाट उनी सफाइ पाएका थिए।
हालसम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (NEOC) को वेबसाइटमा पौडेलको नाम अद्यावधिक भइनसकेको देखिन्छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया