काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडिएको विषयमा गम्भीर छलफल भएको छ । गृहमन्त्री लेखकले आफू निर्दोष रहेको स्पष्ट गर्दै उक्त घटनामा संलग्नता नभएको दाबी गरेका छन् ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टी भित्रैबाट गृहमन्त्रीको राजीनामाको माग उठेकोप्रति केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा सहभागी वरिष्ठ नेता डा. शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा माग गर्ने नेताहरूबाट स्पष्टीकरण माग्नुपर्ने सुझाव बैठकमा उठेको जानकारी दिएका छन् ।
‘हामीले सभापतिलाई भन्यौं— तपाईं ती नेताहरूलाई बोलाएर के कारणले यस्तो अभिव्यक्ति दिइयो भनेर बुझ्नूस् । पार्टीभित्रको असमझदारी संवादमार्फत समाधान गर्नुपर्छ,’ बैठकपछि डा. कोइरालाले पत्रकारहरूसँग भने, ‘शेखर कोइरालासँग, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण माग्नूहोस् ।’
उनका अनुसार नेताहरूबाट यस्तो माग उठ्दा पनि सभापति देउवाले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
संस्थापनइतर धारका नेता डा. शेखर कोइरालाले भने छानबिन सहज बनाउन गृहमन्त्री लेखकले नैतिक आधारमा राजीनामा दिनुपर्ने धारणा सार्वजनिक रूपमा राखेका छन् । उनको पक्षीय सांसदहरू डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि सोही विचार व्यक्त गरेका थिए ।
यसबीच, बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकालेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया