काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा गरेका सबै अभिव्यक्तिको जिम्मेवारी आफूहरूले नलिने स्पष्ट पारेको छ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली नेकपा (एमाले)का नेता समेत रहेको स्मरण गराउँदै, उहाँका सबै भनाइमा कांग्रेसको समर्थन नहुने बताए।

advertisement

उनले भने, “प्रधानमन्त्री ओली एमाले पार्टीका नेता पनि हुनुहुन्छ। उहाँले भनेका हरेक कुराको जिम्मेवारी हामी लिन्नौं। हाम्रो ध्यान सत्ता कब्जामा छैन, हामी समग्र संविधानको रक्षा गर्ने पक्षमा छौं।”

डा. महतले संविधानले नागरिकलाई दिएको अधिकारअनुसार विरोध जनाउने र विचार राख्ने हक सबैलाई रहेको उल्लेख गरे। तर, उनले यो कार्य शान्तिपूर्ण ढंगले हुनुपर्ने र संविधान विरोधी कदमहरु भने अस्वीकार्य हुने बताए।

उनले राजावादी समूहले आगामी जेठ १५ गते आयोजना गर्न लागेको आन्दोलनप्रति संकेत गर्दै भने, “संविधानविरुद्धका गतिविधिहरू कांग्रेसले स्वीकार गर्दैन। हामी गणतन्त्रको रक्षा गर्ने पक्षमा छौं।”

यसअघि प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको दिन जेठ १५ गते काठमाडौं उपत्यका एमालेको नियन्त्रणमा हुनु पर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले राजावादीहरूले सो दिनका लागि घोषणा गरेको प्रदर्शनलाई निष्क्रिय पार्न आग्रह समेत गरेका थिए।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com