काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करी प्रकरणले देशको राजनीति तातेको छ। उक्त प्रकरणमा गृहमन्त्रालय र मन्त्री नै मुछिएपछि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामाको माग गर्दै दबाब सिर्जना गरेका छन्।
सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेकाले तत्काल पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले पदबाट हटेर मार्ग प्रशस्त गर्नुपर्छ। ढिलाइ भयो भने राज्यको साख गम्भीर रूपमा गुम्न सक्छ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत गृहमन्त्री र उनको सचिवालय नै मानव तस्करीमा संलग्न रहेको भन्दै निष्पक्ष अनुसन्धानका लागि राजीनामा माग गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मानिष झाले गृहमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्दै पदत्याग गर्नुपर्ने पार्टीको धारणा सार्वजनिक गरेका छन्।
रास्वपाले मंगलबार बस्ने संसद बैठकमा गृहमन्त्रीको राजीनामा नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। संसदमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायत विपक्षी दलहरूका जम्मा ७८ सिट छन्। यता नेपाली कांग्रेसभित्र पनि डा. शेखर कोइराला समूहले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिएको छ।
उता, राप्रपाले भने गृहमन्त्री मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग गर्ने तयारी गरेको छ। राप्रपाका प्रवक्ता मोहन शाहीले भने, “भिजिट भिसा प्रकरणले सरकारको चरित्र स्पष्ट पारेको छ। ओलीले राजावादीहरूको विरोध कार्यक्रममा बाधा पुर्याउन कार्यकर्तालाई सडक कब्जा गर्न उक्साएका छन्। यस्तो संविधानविपरीतको क्रियाकलापमा प्रधानमन्त्रीको जिम्मेवारी खोजिनुपर्छ।”
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल तथा सम्बन्धित निकायमा छापा मारी अनुसन्धान थालेको छ। ट्राभल एजेन्सी र म्यानपावर कार्यालयहरूबाट डिजिटल सामग्री र कागजात जफत गरिएको छ। आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। आशंका छ, गृहमन्त्रालयले नै बिचौलियासँग मिलेर विदेश पठाउने सेटिङ मिलाएको हो।
गृहमन्त्री लेखकले यसअघि सुरेश पन्थीलाई हटाएर भट्टराईलाई अध्यागमन प्रमुख नियुक्त गरेका थिए। उजुरी परेपछि भट्टराईलाई हटाइए पनि त्यसपछि मन्त्रालयले थप १४ कर्मचारीहरूको सरुवा गरेको छ। सार्वजनिक सूचनाअनुसार ‘भिजिट भिसा’को नाममा दैनिक झण्डै ४० लाख रुपैयाँ असुली हुने गरेको थियो।
यसैबीच, नेपाली कांग्रेसले भने गृहमन्त्री लेखक निर्दोष रहेको दाबी गर्दै उनको पक्षमा उभिएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्रीले कुनै गल्ती नगरेको भन्दै दोषी जो कोही भए पनि कारबाहीको माग गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस–एमाले बैठकले पनि कुनै कर्मचारीको बदमासीका आधारमा मन्त्रीमाथि राजीनामाको माग उचित नहुने निष्कर्ष निकालेको छ।
तर जनस्तरबाट चर्किएको दबाब, विपक्षी दलहरूको आक्रोश र गृहमन्त्रीमाथि उठेका गम्भीर आरोपबीच लेखकको राजनीतिक भविष्य अन्योलमा परेको छ। आफ्नो विगतको स्पष्ट छवि बनाएका लेखक अहिले आलोचनाको घेरामा परेका छन्। आफूमाथि प्रश्न उठेपछि भने उनी प्रतिरक्षामा उत्रिएका छन्।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया