एजेन्सी । साउदी अरबमा मदिरामाथिको प्रतिबन्ध नहटाइने भएको छ । सञ्चार माध्यममा छापिएका खबरहरूको खण्डन गर्दै एक साउदी अधिकारीले यस्तो बताएका हुन् ।
२०३४ मा साउदीले फुटबल विश्वकप आयोजना गर्ने र यस क्रममा यहाँ मदिरा बिक्रीमा ७३ वर्ष पुरानो प्रतिबन्ध हटाइने सञ्चार माध्यमले उल्लेख गरेका थिए । साउदी अरबमा मुस्लिमहरूका लागि मदिरा पिउन निषेध गरिएको छ ।
आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने र तेलमाथिको निर्भरता कम गर्ने योजनाको एक भागको रूपमा साउदीले पर्यटक र अन्तर्राष्ट्रिय व्यापारिक व्यक्तिहरूलाई आकर्षित गर्न हालैका वर्षमा केही प्रतिबन्धहरू खुकुलो पारेको छ ।
तर यहाँ अझै पनि मदिरा पिउन बन्देज छ । साउदी अरबका नेता युवराज मोहम्मद बिनले पछिल्लो वर्षमा धेरै परिवर्तन गरेका छन् । यसमा २०१७ मा महिलाहरूलाई गाडी चलाउन लगाइएको प्रतिबन्ध हटाउने, सार्वजनिक स्थानहरूमा केही लैङ्गिक पृथकीकरण नियमहरू खुकुलो पार्ने र धार्मिक प्रहरीको शक्ति घटाउने समावेश छ । राजकुमार दुई पवित्र मस्जिदहरू मक्का र मदिनाको संरक्षक पनि हुन् ।
मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको साउदी अरब र कुवेत दुई मात्रै खाडी देशहरू हुन् । गत वर्ष राजधानी रियादमा पहिलो मदिरा पसल खुलेपछि यहाँ मदिरा सेवनलाई अनुमति दिने दिशामा एउटा सानो कदम चालिएको बताइन्छ । तर सो पसल गैर–मुस्लिम कूटनीतिज्ञका लागि मात्रै थियो ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया