काठमाडौं । तीनकुने घटनासँग सम्बन्धित अभियुक्तहरूलाई प्रहरीले मुद्दा दायर गर्दा झुट्टा र तोडमोड गरिएको बयान तयार पारेको आरोप संयुक्त जनआन्दोलन समितिले लगाएको छ। समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पक्राउ परेका राजावादी अभियुक्तहरूबीच आपसी दोषारोपणको कुनै कुरा नभएको भए पनि प्रहरी प्रतिवेदनमा भ्रामक विवरण उल्लेख गरिएको छ।
समाचारमाध्यमहरूमा सार्वजनिक भएका विवरणअनुसार, प्रहरीद्वारा अदालतमा बुझाइएको अभियोगपत्रमा दुर्गा प्रसाईँले राप्रपाका नेताहरूलाई ढुंगा हान्न उक्साएको आरोप लगाएको उल्लेख छ। उता, राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणाले भने आफूहरू कार्यक्रममा अतिथिका रूपमा सहभागी मात्र भएको र हिंसात्मक गतिविधिका लागि प्रसाईँलाई जिम्मेवार देखाएको दाबी गरिएको छ।
तर, प्रवक्ता नेपालले यस्ता दाबीहरूलाई पूर्णरूपमा अस्वीकार गर्दै भने, “मैले हिरासत र अदालत दुवै स्थानमा सबै अभियुक्तहरूसँग भेटेर प्रत्यक्ष कुरा गरेको छु। उनीहरूले कुनै पनि अवस्थामा एक-अर्कामाथि दोषारोपण गरेका छैनन्। प्रहरीले बयान लेखेर मात्र होइन, डरधम्की देखाएर जबरजस्ती हस्ताक्षर गराएको कुरा थाहा भएको छ।”
उनका अनुसार, कसैलाई ३२ बुँदा देखाएर ४२ वटा बुँदामा हस्ताक्षर गराइएको छ भने, कसैलाई ३६ देखाएर ४६ बुँदामा। ती थपिएको बुँदाहरू प्रहरी आफैंले तयार गरेका हुन्। “एक-एक जनालाई छुट्टाछुट्टै कोठामा राखेर फलानाले तँबारे यस्तो भन्यो भनेर उक्साउने काम पनि गरिएको रहेछ। यी सबै कुराको गम्भीर रूपमा अदालतमा बहस गरिनेछ,” नेपालले बताए।
तीनकुने घटनाका प्रमुख अभियुक्तका रूपमा चिनिएका दुर्गा प्रसाईँ जनआन्दोलन समितिका जनकमाण्डर समेत हुन्। तीनकुनेमा भएको आन्दोलन उनको नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ले सुरु गरेको थियो, जसलाई पछि संयुक्त जनआन्दोलन समितिले समर्थन गर्दै आफ्नै आन्दोलनका रूपमा अगाडि सारेको थियो।
प्रवक्ता नेपालले प्रसाईँ हाल पनि समितिको जनकमाण्डरकै भूमिकामा रहेको प्रस्ट पारे। उनले भने, “उहाँलाई समितिबाट हटाइएको छैन, उहाँ अझै पनि जनकमाण्डरकै हैसियतमा हुनुहुन्छ।”
यसरी, समितिले प्रहरी अनुसन्धानप्रति गम्भीर प्रश्न उठाउँदै निष्पक्ष न्याय सुनिश्चित गर्नका लागि कानुनी लडाइँलाई बलियो बनाउने तयारी गरिरहेको स्पष्ट पारेको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया