काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संघीय बजेट प्रस्तुत गर्ने मिति परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले जेठ १५ लाई गणतन्त्रको ऐतिहासिक दिवसका रूपमा राष्ट्रिय रूपमा मनाउनुपर्ने भन्दै, सो दिन बजेट प्रस्तुत गर्नु उचित नहुने धारणा व्यक्त गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, “जेठ १५ नेपाली जनताले सार्वभौम सत्ता प्राप्त गरेको गौरवपूर्ण दिन हो। यसलाई गणतन्त्र दिवसका रूपमा विशेष कार्यक्रमसहित राष्ट्रिय उत्सवको रूपमा मनाउनुपर्छ।”
उनका अनुसार, गणतन्त्रको महत्व जनतामाझ अझ प्रस्ट पार्न यो दिनलाई उत्सवका रूपमा स्थापित गर्नु जरुरी छ। “त्यसैले, बजेट ल्याउने संवैधानिक व्यवस्था परिवर्तन गरी मिति सार्नुपर्ने आवश्यकता देखिन्छ,” पोखरेलले स्पष्ट पारे।
उनले संविधान संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग संवाद र सहमति जुटाउने तयारी रहेको उल्लेख गर्दै, एमाले त्यसका लागि सकारात्मक रहेको धारणा व्यक्त गरे।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया