काठमाडौं । बम विष्फोटमार्फत व्यक्तिको हत्या अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम उच्च अदालतबाट सफाइ पाएका छन्।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर, उक्त फैसलालाई उच्च अदालत वीरगञ्जको इजलासले उल्ट्याउँदै आलमलाई निर्दोष ठहर गरेको हो।
२०७६ साल असोज १९ गते, संविधानसभा निर्वाचनको अघिल्लो साँझ २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोट तथा त्यसपछि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा आलमलाई प्रहरीले पक्राउ गरेको थियो।
आरोप अनुसार, आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका त्रिलोकप्रताप सिंह, ओशी अख्तर लगायतलाई आलमले घटनाको भेउ नखुलोस् भनेर जिउँदै इँटाभट्टामा जलाएर हत्या गराएको अनुसन्धानमा उल्लेख थियो।
तर, सो समय घटनास्थलमा पुगेको प्रहरीले त्यहाँ कुनै विस्फोट नभएको भन्दै प्रारम्भिक प्रतिवेदन (मुचुल्का) तयार पारेको थियो। साथै, जिल्ला सरकारी वकिलको कार्यालय र पुनरावेदन सरकारी वकिलको कार्यालयले पनि उक्त घटनामा मुद्दा चलाउन नमिल्ने राय दिएका थिए।
यसरी, लामो समयपछि पुनः मुद्दा अघि बढाएर जिल्ला अदालतले जन्मकैदको फैसला गरे पनि उच्च अदालतले प्रमाण अभावको आधारमा आलमलाई सफाइ दिएको हो।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया