काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेस नेता मोहम्मद आफताव आलमलाई उच्च अदालत वीरगञ्जको इजलासद्वारा सफाइ दिएको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै, इँटाभट्टामा जिउँदो मानिस जलाएको आरोप लागेका आलम र उनका सहयोगीहरूलाई निर्दोष ठहर गर्दै रिहा गरिएको फैसलाले नेपालको न्याय प्रणालीको इतिहासमा कालो दाग लगाएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “न्यायको नाममा कलंकको कालो टीका लगाउने, सत्य र पीडालाई कुच्ल्याउने ‘बहादुर’ न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै विर्सने छैनन्। उनीहरूले फैसला गरेको यो कालो दिन देशका न्यायप्रेमी नागरिकका लागि पीडादायी क्षण हो।”
श्रेष्ठले यस्ता गम्भीर अपराधमा संलग्न मानिने व्यक्तिहरू कानुनी रूपमा निर्दोष ठहरिँदै समाजमा खुलेआम हिँड्न थालेको अवस्थाले समाजमा भयावह अवस्था सिर्जना गर्ने चेतावनीसमेत दिएका छन्।
“जिउँदै मानिस जलाउने जस्तो पाशविक अपराधमा आरोपितहरू निर्दोषको बिल्ला टाँसिएर समाजमा हिँड्न थाल्दा आम नागरिकको मनोविज्ञानमा कस्तो त्रासदी पैदा हुन्छ?” भन्दै उनले गम्भीर प्रश्न उठाएका छन्।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया