काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट संसद्मा प्रस्तुत गरेको छ। तर, यसपटकको बजेटमा सांसदहरूका लागि छुट्याइने रकमको विषयमा कुनै पनि उल्लेख गरिएको छैन।
पहिला “निर्वाचन क्षेत्र विकास कार्यक्रम”, “सांसद विकास कोष” वा “रणनीतिक कार्यक्रम” जस्ता शीर्षकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा योजना छान्न पाउने व्यवस्था गरिँदै आएको थियो। तर, चालु बजेट वक्तव्यमा यस्तो कुनै कार्यक्रमको उल्लेख गरिएको छैन।
बजेट सार्वजनिक भएपछि पत्रकारहरूले अर्थमन्त्रीलाई विभिन्न प्रश्नहरू राखेका थिए। तीमध्ये धेरै प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका सचिवहरूमार्फत दिन लगाइएको थियो भने बाँकी प्रश्नहरूको जवाफ अर्थमन्त्री जनार्दन शर्माले स्वयम् दिए।
सांसद विकास कोषसम्बन्धी प्रश्नमा अर्थमन्त्रीको जवाफ अस्पष्ट रह्यो। सबै प्रश्नको उत्तर दिएपछि उनले हल्का व्यङ्ग्य गर्दै भने, “मैले मात्रै सबै जवाफ दिनुपर्ने त होइन नि, तपाईंहरू पत्रकार साथीहरूले पनि सहयोग गर्नुहोस्। बजेटमा सांसद विकास कोषको रकम कहाँ लुकेको छ, खोजेर मलाई जानकारी गराइदिनुहोस्।”
सरकारले औपचारिक रूपमा सांसद विकास कोष हटाएको घोषणा नगरे पनि बजेटमा यसबारे स्पष्ट उल्लेख नहुनुले यसलाई लिएर विभिन्न अड्कलबाजीहरू चलिरहेका छन्।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया