कास्की । लमजुङको मध्यनेपाल नगरपालिका–७, रामबजारबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस कास्कीको रुपा गाउँपालिकामा शुक्रबार बिहान दुर्घटनामा पर्दा १८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांश रामबजार क्षेत्रका स्थानीय हुन्। दुर्घटनामा ८२ वर्षीया एक वृद्धाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, ग १ ख ४१०१ नम्बरको बस रुपा गाउँपालिका–१, पार्चेमा बिहान करिब ११ः१५ बजे ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

advertisement

घाइतेमध्ये मध्यनेपाल नगरपालिका–७ की ८२ वर्षीया मेनुकादेवी घिमिरेको अवस्था गम्भीर छ। उनको दायाँ हात भाँचिएको र दुवै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ।

अन्य घाइतेहरूमा ६२ वर्षीया राधिका घिमिरे, ५९ वर्षीया शोमा थापा, ५४ वर्षीया लक्ष्मी कुमारी गुरुङ, ४५ वर्षीया सरस्वती केसी, ८३ वर्षीया जमुना देवी घिमिरे, ४२ वर्षीया सरिता घिमिरे, ५६ वर्षीया सावित्रा घिमिरे, ४२ वर्षीया रिता घिमिरे, ४१ वर्षीया पार्वती घिमिरे, ४८ वर्षीया सिजा थापा, ७५ वर्षीय चन्द्रबहादुर केसी, ७१ वर्षीय नेत्रबहादुर केसी, ३० वर्षीया लीला केसी, ३७ वर्षीया शान्ति केसी, ६३ वर्षीय हरिकृष्ण घिमिरे, ४८ वर्षीया कमलादेवी घिमिरे र ५५ वर्षीया मैया कुँवर रहेका छन्।

घाइतेहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको र उनीहरूको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसका ३४ वर्षीय चालक सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी रामबजारकै स्थायी बासिन्दा हुन्। बसका १६ वर्षीय सहचालक सन्देश गैरे (तनहुँको व्यास नगरपालिका–९ निवासी) सामान्य घाइते भएका छन् र उनी अस्पताल भर्ना भएका छैनन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com