काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सांसद सुदन किरातीले गृहमन्त्रीको राजीनामा माग गर्दै गम्भीर चेतावनी दिएका छन्। उनले गृहमन्त्रीले पद नत्यागे संसदलाई लडाइँको मैदान बनाउने घोषणा गरेका हुन्।

शनिबार छथर गाउँपालिकामा आयोजित माओवादीको अधिवेशनलाई सम्बोधन गर्दै किरातीले हालैको मानव तस्करी प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छवि धूमिल बनाएको आरोप लगाए। उनले भने, “भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारकै कारण आज नेपाल र नेपालीको इज्जत विश्वसामु धुमिल भएको छ। यदि गृहमन्त्रीले राजीनामा नदिए र प्रधानमन्त्रीले संसद्मा स्पष्ट जवाफ नदिए, हामी संसदलाई नै लडाइँको मैदानमा परिणत गर्न बाध्य हुनेछौँ।”

advertisement

किरातीले माओवादी आन्दोलन सधैं संघर्षको धारमा हिँडिरहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धको लडाइँ अझै पनि कठिन रहेको बताए। “भ्रष्टाचारविरुद्ध बोल्दा कहिले राजावादीसँग उभिनुपर्छ, कहिले भ्रष्टाचारीसँग। यी सबै पीडादायी अवस्थाहरूबीच पनि हामी माओवादीहरूले आफ्नो आदर्श र नीति नत्यागी अगाडि बढ्नुपरेको छ,” उनले भने।

उनले अहिले माओवादीहरू नैतिक र राजनीतिक सङ्कटका बीचमा रहेको स्वीकार गर्दै अब आफ्नै खुट्टामा उभिनुपर्ने बेला आएको बताए। “हामी गणतन्त्रका जन्मदाता हौं। भ्रष्टाचार हाम्रो प्रमुख शत्रु हो। त्यसैले अब गणतन्त्रको पक्षमा फेरि एकपटक बलिदानीपूर्ण गर्जना गर्न जरुरी छ,” उनले जोड दिए।

साथै, किरातीले पार्टीलाई एकीकृत गर्दै भ्रष्टाचारमा संलग्न सबैको भण्डाफोर गर्दै अघि बढ्नुपर्ने स्पष्ट धारणा पनि राखे।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com