डोटी । डोटी जिल्लाको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाबाट दिपायलतर्फ जाँदै गरेको सुप–प्र ०१–००१ ज १४६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते अवस्थामा रहेका बमलाई तत्कालै उपचारका लागि शैलेश्वरी अस्पताल, दिपायल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
जिपमा सवार अन्य आठ जना घाइते भएको र उनीहरूको पनि शैलेश्वरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम तथा दुई जनाको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।
दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया