काठमाडौं । विश्वकै धनी व्यक्ति तथा अमेरिकी उद्यमी एलन मस्कले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनाव अभियानका क्रममा अत्यधिक मात्रामा केटामिन र अन्य लागुऔषध सेवन गरेको भन्ने न्युयोर्क टाइम्सको रिपोर्टलाई कपोकल्पित र झुटो भन्दै खण्डन गरेका छन्।
न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टमा मस्कले केटामिनजस्ता शक्तिशाली एनेस्थेटिकसहित इक्स्टासी र मसरुमजस्ता लागुऔषधको अत्यधिक सेवन गर्दै आएको दाबी गरिएको थियो। रिपोर्टमा भनिएको छ कि लागुऔषधको अधिक प्रयोगका कारण मस्कको मूत्राशयमा समस्या उत्पन्न भएको थियो र उनी २०२३ को अधिकांश समय ‘पिल बक्स’ साथमा बोकेरै हिँड्थे।
तर शनिबार सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा प्रतिक्रिया जनाउँदै मस्कले यी सबै दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरे। उनले लेखे, “मैले मादकपदार्थ सेवन गरिरहेको छैन। न्युयोर्क टाइम्सको रिपोर्ट पूर्णतः झुटो हो।” साथै उनले स्पष्ट पारे, “केही वर्षअघि म मानसिक अवस्थाबाट गुज्रिरहेको बेला चिकित्सकको सल्लाहअनुसार केटामिन प्रयोग गरेको थिएँ, जुन कुरा म स्वयंले यसअघि नै सार्वजनिक गरिसकेको छु। त्यसपछि मैले त्यसलाई पुनः प्रयोग गरेको छैन।”
यसबीच, मस्कले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा भएको बिदाइ समारोहमा समेत लागुऔषध सेवनको आरोपलाई खारेज गरेका थिए। उनी ट्रम्प प्रशासनको “सरकारी कार्य दक्षता विभाग (DOJ)” प्रमुखको रूपमा कार्यरत थिए। समारोहमा मस्कको आँखामा देखिएको कालोपनले सामाजिक सञ्जालमा चर्चा पाएको थियो, जसलाई उनले खेल्दै गर्दा आफ्नै छोराको मुक्काबाट लागेको चोट भनेका छन्।
मस्कमाथि आएको आरोपसँगै उनको शारीरिक अवस्थाबारे विभिन्न अडकलहरू चलिरहेका बेला, डेलीले मस्कको अघिल्ला केही विवादास्पद गतिविधिहरू—जस्तै ट्रम्पको शपथग्रहण समारोहमा ‘नाजी शैली’को सलाम दिएको भनिएको व्यवहार—सम्झाउँदै उनलाई पुनः चर्चा मा ल्याएको छ।
यसैबीच, एक पत्रकारले ट्रम्पसँग मस्कको ‘नियमित लागुऔषध सेवन’बारे सोध्दा ट्रम्पले उत्तर दिएका थिए, “मलाई थाहा थिएन, तर मलाई लाग्छ एलन एक अद्भुत व्यक्ति हुन्।”
मस्कले यसअघि नै ‘केटामिन’ प्रयोगको कुरा स्वीकार गरेका थिए, र मानसिक तनावबाट उकासिन यो औषधिले सहयोग गरेको बताएका थिए। तर उनले बारम्बार जोड दिँदै आएका छन् कि उनी हाल कुनै प्रकारको मादकपदार्थ सेवन गर्दैनन्।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया