काठमाडौं । गाजाको दक्षिणी सहर रफाहमा मानवीय सहायता लिन जम्मा भएका प्यालेस्टिनी नागरिकमाथि इजरायली ट्याङ्कबाट अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २६ जनाको ज्यान गएको छ । उक्त घटनामा घाइतेको सङ्ख्या १५० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहान करिब ४:३० बजे, रफाहको पश्चिम क्षेत्रमा रहेको अल-आलम राउन्डअबाउट नजिक गाजा ह्युमानिटेरियन फाउन्डेशनले सञ्चालन गरेको सहायता वितरण केन्द्रमा हजारौं मानिस सहायता लिन भेला भएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सोही समयमा इजरायली ट्याङ्कहरू त्यहाँ आइपुगेका थिए र भिडतर्फ सिधै गोली चलाएका थिए ।
इजरायलको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा घटना भएलगत्तै उद्दार टोली पुग्न नसकेको जनाइएको छ । घाइतेहरूलाई स्थानीय बासिन्दाले आफैं उद्दार गरी उपचारका लागि खान युनिसस्थित अस्पताल पुर्याएका थिए । गाजामा भएका निरन्तर इजरायली आक्रमणका कारण अधिकांश अस्पताल ध्वस्त भइसकेका छन् भने केही अस्पतालहरू मात्र सीमित रूपमा सञ्चालनमा छन् ।
यो घटनाले अन्तर्राष्ट्रिय स्तरमै चासो उत्पन्न गराएको छ । विशेष गरी शान्ति प्रक्रियामा सक्रिय भूमिका खेल्दै आएको अमेरिका समेत यसप्रति चिन्तित भएको बताइएको छ । विश्लेषकहरूका अनुसार यस्तो घटनाले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउने सम्भावना रहेको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया