काठमाडौं । राजसंस्थाको पुनःस्थापनासहित हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित पाँच जना नेतालाई आइतबार नारायणचौरबाट बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेपछि आन्दोलनमा सहभागीहरूले विरोधस्वरूप धर्ना थालेका हुन्।

advertisement

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार, पक्राउ परेका नेताहरूको यथाशीघ्र रिहाइको मागसहित शान्तिपूर्ण धर्ना सुरु गरिएको हो। उनले चेतावनी दिँदै भने, “यदि तत्काल रिहाइ नभए आन्दोलन अझ चर्को बनाइनेछ।”

यता, काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले भने निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्न खोजेपछि बाध्य भएर पक्राउ गरिएको बताए। उनका अनुसार नारायणचौरबाट सुरु भएको जुलुस बालुवाटारतर्फ अघि बढ्दा प्रहरीद्वारा राखिएको अवरोध हटाउन खोजेपछि कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरीले जनाएको छ।

१५ जेठदेखि सुरु भएको राजावादीको आन्दोलन आज पनि नारायणचौरबाट सुरु भएको थियो। उनीहरूले राजसंस्थाको पुनःस्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन्।

हिजो बालुवाटारसम्म पुग्न खोजिएको प्रदर्शन आज पनि त्यही दिशामा उन्मुख भएको थियो। प्रहरीका अनुसार आजको प्रदर्शनमा सहभागीहरू उग्र बन्दै निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि नियन्त्रणको उपाय अपनाइएको हो।

सरकारले प्रधानमन्त्री, सभामुखलगायत शीर्ष नेताहरूको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com