काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई अविलम्ब ससम्मान रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनले थापा तत्काल रिहा नभए भोलिदेखि काठमाडौं उपत्यका बन्द सुरु हुने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै आयोजित प्रदर्शनका क्रममा प्रहरीले अध्यक्ष थापालाई नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्देनले आक्रोशित शैलीमा चेतावनी दिएका हुन्।
प्रदर्शनकारीहरूसँग सम्बोधन गर्दै लिङ्देनले भने, “कमल थापालाई यहीं ल्याएर ससम्मान नछाड्ने हो भने भोलिबाट उपत्यका बन्द हुन्छ। अब देशभरिका कार्यकर्ताहरूलाई बोलाएर निर्णायक आन्दोलन सुरु गर्छौं।”
उनले थपे, “अब हामी एउटै ठाउँमा जम्मा हुँदैनौं, ५० ठाउँबाट आन्दोलनको रुप लिन्छौं। रोक्न सक्नुहुन्छ भने रोक्नुस्, हामी तयार छौं।”
लिङ्देनले सरकारलाई चेतावनी दिँदै भने, “हाम्रो धैर्यलाई कमजोरी नठान्नू, हामी बाध्य भएका हौं, झुक्किए सरकार।”
राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा, राप्रपा नेपाल र अन्य राजावादी दलहरूले यही जेठ १५ गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरूले हिन्दू राष्ट्रसहित राजसंस्थाको पुनर्स्थापनाको माग अघि सार्दै आन्दोलनलाई निर्णायक मोडमा लैजाने घोषणा गर्दै आएका छन्।
आइतबारको प्रदर्शन नक्साल र बालुवाटार क्षेत्र केन्द्रित रहेको थियो। निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो। प्रहरीका अनुसार अध्यक्ष थापा प्रदर्शनको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढेपछि उनलाई नियन्त्रणमा लिइएको हो। थापासँगै केही अन्य प्रदर्शनकारीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनापछि बालुवाटार क्षेत्र तनावग्रस्त बनेको थियो।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया