काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूहरू कहिल्यै देश छाडेर नभाग्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि दिएको “हेलिकप्टर चढेर भाग्न तयारी रहनु” भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शाक्यले, आफू र ओलीले देशका लागि जीवनभर समर्पित रहेको र अन्तिम रगतको थोपा रहेसम्म पनि मातृभूमिको पक्षमा उभिरहने बताइन्।
“हामीले देशका लागि आफ्नो सम्पूर्ण शक्ति लगायौँ। विदेशमा सम्पत्ति थुपारेर भाग्ने नियत कहिल्यै राखेनौँ, राख्दैनौँ पनि। जबसम्म शरीरमा रगतको अन्तिम थोपा बाँकी छ, तबसम्म हामी देशका लागि लडिरहन्छौँ,” शाक्यले भनिन्।
शाक्यले आइतबार मध्यपुरथिमिमा सम्पन्न ‘जेसुम’ कविता संग्रहको लोकार्पण कार्यक्रममा बोल्दै लोकतन्त्रको स्थापनापछि देशका विभिन्न क्षेत्रमा भएका विकासको मूल्याङ्कन गर्न आग्रह गरिन्।
“देशमा केही भएन भन्नेहरूलाई एकपटक देश घुम्न, बुझ्न र हेर्न आग्रह गर्दछु। शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका क्षेत्रमा भएका परिवर्तनहरू अध्ययन गर्न सरकारले प्रकाशित गरेका विकाससम्बन्धी पुस्तकहरू पढ्नुस्। प्रजातन्त्रपछि धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने सोच गलत हो,” उनले स्पष्ट पारिन्।
त्यसैगरी, उनले अझै पनि देशका लागि योगदान दिन सकिने समय रहेको भन्दै आन्दोलन र असन्तोषको बाटो छाडेर सबैले आ-आफ्नो तहबाट सकारात्मक भूमिका खेल्न आह्वान गरिन्।
उक्त लोकार्पण कार्यक्रम समृद्ध मध्यपुर समाज नेपालद्वारा प्रकाशित पुस्तक ‘जेसुम’ को विमोचनको अवसरमा कराते एकेडेमी, मध्यपुरथिमिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीको कविता ‘जेसुम’ देखि विभिन्न श्रष्टाहरूका रचनाहरू वाचन गरिएका थिए। त्यस अवसरमा मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठको कविता समेत प्रस्तुत गरिएको थियो।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया