काठमाडौं । राजतन्त्रको समर्थनमा क्रियाशील संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि नारायणहिटी दरबारमा घटेको हृदयविदारक हत्याकाण्डमा ज्यान गुमाउने दिवङ्गत आत्माहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।
सोमबार समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै जेठ १९ गते साँझ ६ बजे काठमाडौंको कमलादीस्थित गणेशस्थानमा दीप प्रज्वलन गरिने जानकारी दिएका छन्। दिवङ्गतको चिरशान्तिको कामना गर्दै आयोजित उक्त कार्यक्रममा सबै आन्दोलनकर्मी तथा सर्वसाधारण जनसमुदायलाई सहभागी भई श्रदाञ्जली अर्पण गर्न सुवेदीले अनुरोध गरेका छन्।
विज्ञप्तिमा शोकको दिन भएकाले कुनै पनि जुलुस, र्याली वा धर्ना जस्ता कार्यक्रम नराखिएको उल्लेख गरिएको छ।
२०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित राजपरिवारका १० सदस्यको विभत्स हत्या गरिएको थियो। यो घटनालाई नेपालका इतिहासमा सबैभन्दा दुखद दिनको रूपमा लिइन्छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया