काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली बैंक नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्नुपर्ने प्रस्ताव राखेका छन्।
संघीय संसदको अर्थ समितिमा सोमबार भएको बाफिया (बैंक तथा वित्तीय संस्था ऐन) सम्बन्धी छलफलमा भाग लिँदै सांसद क्षेत्रीले राष्ट्र एकीकरणको महान कार्य गर्ने व्यक्तिको योगदानलाई सम्मान दिनु आवश्यक रहेको तर्क गरे।
उनले भने, “म राजावादी होइन, गणतन्त्रवादी हुँ। गणतन्त्र स्थापनाका लागि आफैं लडेको मान्छे हुँ। तर नेपाललाई एकीकृत गर्ने पृथ्वीनारायण शाहको तस्वीर नोटमा राख्नुपर्छ। यस्तो तस्वीरले नोटको गरिमा अझ बढाउँछ।”
सांसद क्षेत्रीले नेपालमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धको तस्वीर पनि नोटमा समावेश गर्नुपर्ने सुझाव दिए। उनका अनुसार, यस्ता राष्ट्रिय प्रतीकहरूको समावेशले नेपाली नोटको अन्तर्राष्ट्रिय महत्त्व समेत बढाउनेछ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया