काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई बजेटमाथिको छलफलमा तर्क, तथ्य र अध्ययनसहित प्रस्तुत हुन निर्देशन दिएका छन्।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नीति तथा कार्यक्रम र बजेट उपयुक्त रूपमा प्रस्तुत गरिएको दाबी गर्दै भने, “अब संसदमा बजेटमाथि छलफल सुरु हुँदैछ। विरोधी पक्षबाट कडा आलोचना आउन सक्छ, तर हाम्रो सांसदहरूले तयारीसहित तथ्यमा आधारित जवाफ दिनुपर्छ।”

advertisement

उनले सांसदहरूलाई अध्ययनपूर्वक, बुँदागत रूपमा बजेटको पक्षमा बोल्न र संसदमा सक्रिय रूपमा उपस्थित हुन निर्देशन दिए। साथै, ओलीले संसदीय दलको बैठकमा समेत सांसदहरूको उपस्थिति न्यून देखिएकोमा असन्तुष्टि जनाए।

ओलीले केही विपक्षी दलहरू संसद चल्न नदिने योजनामा रहेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुरा गर्न खोज्दा सम्पर्क गर्न नसकेको बताए। “मैले संसद चलाउन पहलस्वरूप प्रचण्डजीसँग संवाद गर्ने प्रयास गरें, तर उहाँ सम्पर्कमा आउन चाहनु भएन,” ओलीले भने, “उहाँलाई थाहा नभएको होइन, खोज्दा समेत भेटिनुभएको छैन।”

उनले विपक्षी दलहरूलाई संविधान र लोकतान्त्रिक अभ्यासविपरीतका गतिविधिमा नलाग्न आग्रह गर्दै संसद अवरुद्ध नगर्न चेतावनीसमेत दिए। “संसद बन्द गर्नु, विकास रोक्नु, जनप्रतिनिधिलाई निष्क्रिय बनाउनु गलत हो,” ओलीले भने।

गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर संसद अवरोध हुने अवस्था नरहेको बताउँदै ओलीले भने, “संसद अवरोधको नाममा जुनसुकै विषय उठाएर माइतीघर मण्डलामा धाउने प्रवृत्ति गलत हो। संसद चल्नुपर्छ, अब धेरै भयो। अति भयो।”

अध्यक्ष ओलीले संसद सुचारु गर्न सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै जनताका मुद्दा र विकासको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com