काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरू सोमबार बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा राजसंस्था पक्षधरहरूको बढ्दो गतिविधि र आन्दोलनबारे गम्भीर छलफल गरेका छन्।

बैठकमा नेताहरूले पछिल्ला दिनहरूमा राजसंस्थाको समर्थनमा भइरहेका प्रदर्शनहरूलाई गम्भीर रूपमा लिनुपर्ने बताएका थिए। केही नेताहरूले कांग्रेसले पनि गणतन्त्रको पक्षमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिएका छन्।

advertisement

सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले बैठकमा पछिल्लो समय आफूलाई केही राजसंस्थाका समर्थकहरूले भेटेको जानकारी दिएका थिए। यद्यपि उनले कांग्रेस नेता लोकेश ढकालले पहिले उल्लेख गरेजस्तै पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रलाई राजा बनाउने विषयमा कुनै स्पष्ट धारणा नदिएको बैठक स्रोतले जनाएको छ। तर, देउवाले राजसंस्थाप्रति समर्थन गर्ने समूहहरू गम्भीररूपमा सक्रिय भइरहेका छन् भन्ने बताएका थिए।

महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला लगायतका नेताहरूले राजसंस्थाको पक्षमा भइरहेको गतिविधिको प्रतिकारस्वरूप कांग्रेसले सातै प्रदेशमा गणतन्त्र समर्थक प्रदर्शन आयोजना गर्नुपर्ने धारणा राखे। उनीहरूको प्रस्तावलाई नेता विमलेन्द्र निधिले पनि समर्थन जनाएका थिए।

यसैबीच, भिजिट भिसासम्बन्धी विवादमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु आवश्यक नभएको निष्कर्ष पनि बैठकमा दोहोरिएको छ।

बैठकपश्चात् पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको मर्म र संरचनामाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई कुनै हालतमा सफल हुन नदिइने स्पष्ट पारे। उनले नेपाली कांग्रेस संविधान र लोकतन्त्रको रक्षामा दृढताका साथ उभिने बताए।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com