काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर आगामी विपद् व्यवस्थापनको तयारी अवस्थाबारे विस्तृत जानकारी लिएका छन्।
मनसुन यस वर्ष अन्य वर्षभन्दा एक साता अघिनै प्रवेश गरेकाले संभावित जोखिम र आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेका हुन्।
गृह मन्त्रालयका शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख सहसचिव रामचन्द्र तिवारीका अनुसार देशभरका सातै प्रदेशमा कार्यरत सशस्त्र प्रहरीका बाहिनीपतिहरूले आ–आफ्नो क्षेत्रको तयारी र चुनौतीबारे गृहमन्त्री समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी कालीदास धौवजीले विगतका कमी–कमजोरीलाई समीक्षा गरी यसपालिको तयारी थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताए। “सशस्त्र प्रहरीको विपद् महाशाखाबाट विस्तृत प्रस्तुतिकरण गरिएको थियो,” उनले जानकारी दिए।
सो अवसरमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा पनि सहभागी थिए।
गत वर्ष काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा विपद् व्यवस्थापनमा देखिएको कमजोरीलाई नदोहोर्याउने अठोटका साथ यसपटकको तयारीलाई थप सुदृढ बनाइने गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री लेखकले विपद् व्यवस्थापनको तयारीलाई समयमै सशक्त रूपमा अघि बढाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया