काठमाडौं । दिवंगत राजपरिवारको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा अपेक्षाभन्दा ठूलो भीड जुटेपछि कमलादी क्षेत्रको सुरक्षा अवस्था चनाखो बन्न पुगेको छ। कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाहको उपस्थिति रहेपनि उनीहरूलाई प्रहरीले कुनै औपचारिक सुरक्षा व्यवस्था उपलब्ध गराएको थिएन।
स्वयम्सेवकहरूको सहयोगमा मात्र भीड छिचोल्दै उनीहरू मन्दिरभित्र प्रवेश गर्न सफल भए। कार्यक्रममा सहभागी जनसमूहको संख्या अत्यधिक भएपछि सुरक्षाका दृष्टिकोणले स्थिति जटिल बन्दै गएको हो।
यसबिच, कमलादीस्थित प्रज्ञा भवनमा माओवादी निकट युवा संगठन वाइसिएलको भेला पनि एकै समयमा चलिरहेको थियो। भेला सकिएपछि वाइसिएल कार्यकर्ताहरू बाहिरिएर राजपरिवारविरुद्ध नारावाजी गर्न थालेपछि तनावको स्थिति उत्पन्न भयो। त्यसक्रममा राजसंस्थाका समर्थकहरू आक्रोशित बनेपछि झडपको सम्भावना देखिएको थियो। स्थिति थप बिग्रन नदिन प्रहरीले तत्काल हस्तक्षेप गरेको थियो।
हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ भने, पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाह मन्दिरभित्र पूजा–अर्चनामा संलग्न रहेका छन्।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया