काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात बन्द गर्नु यातायात व्यवसायीहरूको गलत निर्णय भएको बताएका छन्।
उनका अनुसार सोमबार राति सरकार र व्यवसायीबीच भएको सहमतिपछि पनि यातायात सञ्चालन नगर्नु गैरजिम्मेवार कदम हो।
मन्त्री दाहालले सार्वजनिक सेवा रोकेर जनतालाई दुःख दिने कार्य कुनै हालतमा उचित नहुने स्पष्ट पारे। उनले व्यवसायीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र पठेपछि मात्र सेवा सञ्चालन गर्ने जस्ता तर्क अघि सार्नु पनि अनुचित भएको बताए।
‘सरकारले प्रदेशको अधिकार कुण्ठित हुने गरी कुनै सम्झौता गरेको छैन,’ मन्त्री दाहालले भने, ‘सार्वजनिक यातायातसम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक अन्तिम चरणमा पुगेको छ। त्यसमा आवश्यक विषय समेट्ने तयारी भइरहेको छ।’
उनले संघीय सरकारले कानुन बनाएपछि प्रदेश सरकारले आफ्ना कानुन बनाउन सहज हुने भएकाले हाललाई प्रक्रिया स्थगित राख्न आग्रह गरिएको स्पष्ट पारे। ‘संघको कानुन आएको आधारमा प्रदेशले कानुन बनाएमा कार्यान्वयन सजिलो हुन्छ,’ उनले भने।
राइड सेयरिङ सेवा बारेमा पनि मन्त्रालय गम्भीर भएर काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘राइड सेयरिङ सेवा जनताका लागि सुविधाजनक बनेको छ। तर, त्यसलाई नियमन गरेर कानुनी दायरामा ल्याउनु आवश्यक छ।’
उनका अनुसार यस विषयमा कानुन र नियमावली बनाउन सरकार सक्रिय रुपमा लागिपरेको छ। ‘राइड सेयरिङलाई पनि संघीय कानुनमार्फत व्यवस्थित गर्ने प्रस्ताव गरेका छौं,’ उनले बताए।
मन्त्री दाहालले नेपालमा सार्वजनिक यातायात निजी क्षेत्रको जिम्मामा रहेकाले व्यवसायीहरू थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए। ‘सार्वजनिक यातायात शतप्रतिशत निजी क्षेत्रले सञ्चालन गरेको हो। त्यसैले व्यवसायीहरूले जनताको दुःख बुझ्दै जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ,’ उनले चेतावनी दिए, ‘यातायात बन्द गर्ने र जनतालाई हैरान बनाउने कार्य स्वीकार्य छैन।’
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया