काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नका सन्दर्भमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा जवाफ दिन पाउनुपर्ने स्पष्ट पारेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपक्षीसँगको संवाद सकारात्मक दिशामा रहेको बताउँदै बैठक भोलिसम्मका लागि स्थगित गरिएको जानकारी दिए।
बर्तौलाले भने, “गृहमन्त्रीलाई जवाफ दिने अवसर दिनुपर्छ भन्ने हाम्रो निरन्तर माग हो। उहाँ स्वयं पनि जवाफ दिन तयार हुनुहुन्छ। जबसम्म उहाँले जवाफ दिनुहुन्न, विपक्षी दलहरूको मागबारे गम्भीर छलफल हुन सक्दैन। तर विपक्षी दलहरू त्यसका लागि तयार देखिएनन्। उनीहरूले भने गृहमन्त्रीको राजीनामा नआए छानबिन समिति बनाउनु पर्ने माग राखे। तर गृहमन्त्रीले सदनमै जवाफ दिएर नै ती माग सम्बोधन गर्न सकिने अवस्था छ।”
उनले कुनै पनि मन्त्रीले प्रश्न उठेपछि सदनमा आएर जवाफ दिन पाउनुपर्ने संवैधानिक अभ्यासलाई रोक्न खोज्नु गलत नजिर बन्न सक्ने भन्दै विपक्षी दलहरू त्यसप्रति गैरजिम्मेवार बनेको आरोपसमेत लगाए।
उनका अनुसार, गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले राखेको मागबारे छलफल गर्ने वातावरण बन्न नसकेको स्पष्ट छ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया