काठमाडौँ । रमेश लेखक प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद अवरुद्ध गर्दै कडा राजनीतिक दबाब सिर्जना गरेपछि सरकारले रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट डिल्लीबजार कारागार स्थानान्तरण गर्ने तयारी थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा लामिछानेको स्थानान्तरण प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ। काठमाडौँ सरूवा भएपछि राजनीतिक संवाद र सहमतिको वातावरण सहज बन्ने अपेक्षा गरिएको छ। यसअघि पनि डिल्लीबजार कारागारमा राखिएका केही चर्चित राजनीतिक अभियुक्तहरूसँग बार्गेनिङ र समन्वयका घटना देखिइसकेका छन्। यसैले लामिछानेको स्थानान्तरण राजनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
रास्वपाले माओवादीसँग मिलेर लेखक प्रकरणमा गम्भीर छानबिन र गृहमन्त्रीको राजीनामासम्म माग गर्दै संसद निरन्तर अवरोध गरिरहेपछि सरकार लामिछानेको सरूवा प्रक्रियामा गम्भीर देखिएको हो।
स्रोतका अनुसार, लामिछाने पक्षका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतबाट स्थानान्तरणको अनुमति प्राप्त गरिसकेका छन्। अब केन्द्रीय कारागार विभागको स्वीकृति पाएलगत्तै उनी डिल्लीबजार जेल स्थानान्तरण हुनेछन्। उनलाई गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे रहेकाे ब्लकमा राख्ने तयारी गरिएको छ।
सहकारी प्रकरणमा लामिछाने चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्। लामिछानेकी पत्नी निकिता पौडेलले थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरेकी थिइन्। तर, सर्वोच्चले उक्त रिट खारेज गरिदिएको थियो।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया