काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ले दोस्रो चरणको आन्दोलनका लागि नयाँ रणनीति बनाउने तयारी गरेको छ।
एक सातासम्म चलेको पहिलो चरणको आन्दोलन सफल र उत्साहजनक रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै समितिले आज दिउँसो २ बजे नयाँ बैठक डाकेको छ। सो बैठकमा आगामी आन्दोलनको खाका सार्वजनिक गर्ने तयारी समितिले गरेको हो।
समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएअनुसार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने उक्त बैठकमा पहिलो चरणको आन्दोलनको विस्तृत समीक्षा गरिनुका साथै दोस्रो चरणका कार्यक्रमहरू तय गरिनेछ।
बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ वटा राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरू सहभागी हुने सुवेदीले बताए।
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र घोषणाका लागि जनदबाब सिर्जना गर्न समिति चरणबद्ध आन्दोलनमा उत्रिएको छ। अबको रणनीति अझ सशक्त र प्रभावकारी हुने समिति स्रोतको दाबी छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया