काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्रोतको अधिकतम र प्रभावकारी प्रयोग हुनेगरी तयार पारिएको बताएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजद्वारा ललितपुरमा आयोजित “बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेट देशको आवश्यकता र उपलब्ध स्रोतबीचको सन्तुलन मिलाएर तयार गरिएको बताए। उनले स्रोतको दुरुपयोग हुन नदिने र यथार्थमा आधारित बजेट बनाइएको स्पष्ट पारे।

advertisement

“पूर्वाधार निर्माणमा विगतमा देखिएका समस्यालाई सम्बोधन गर्न सुधारका केही प्रयास गरेका छौं,” उनले भने, “बजेट कुनै काल्पनिक दस्तावेज होइन, यसको विश्वसनीयतामा प्रश्न उठ्न नदिने गरी तयार गरिएको हो। अहिलेसम्म कुनै गम्भीर आलोचना सुन्नुपरेको छैन, जुन सकारात्मक संकेत हो।”

उनले बजेटमा पुँजीगत खर्चका लागि स्रोत व्यवस्थापनलाई प्राथमिकता दिइएको र बजेट अनुशासन कायम गर्न विशेष ध्यान दिइएको उल्लेख गरे। “पहिलाको बजेटमा साधारण खर्च अत्यधिक बढाइएको थियो, यसपटक त्यसलाई नियन्त्रणमा राख्ने प्रयास गरेका छौं,” मन्त्री पौडेलले बताए।

सार्वजनिक खरिद ऐनको विषयमा विगतदेखि उठ्दै आएका आलोचनालाई सम्बोधन गर्दै उनले १४औँ संशोधनबाट केही समस्याको समाधान भएको र थप सुधारका लागि सरकार तयार रहेको बताए। “सबै सरोकारवालाको सुझाव संकलन गरेर निर्माण क्षेत्रलाई व्यवस्थित र सक्षम बनाउनेतर्फ केन्द्रित हुनेछौं,” उनले भने।

निर्माण सामग्रीको अभावमा आयोजना प्रभावित नहोउन् भन्ने उद्देश्यले वातावरणीय अध्ययनपछि मात्र उपयुक्त स्थानबाट खानीजन्य र नदीजन्य सामग्री उत्खनन गरिने उनले जानकारी दिए।

त्यसैगरी, ठूला विकास आयोजनाहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको प्रयोग गर्ने व्यवस्था बजेटमा गरिएको र त्यसका लागि आवश्यक कानुनी संरचना संसदबाट पारित हुने विश्वास पनि उनले व्यक्त गरे।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com